‘इन्दिरा तेरे अभावमे, हरिजन मारेजाते है’–को नारा गुञ्जिरहेको थियो। इमर्जेन्सीको अत्याचार विस्मृतिमै पुगिसकेको भान हुन्थ्यो। साँझ बेलछी पुगेकी इन्दिरा राति नै फर्केर पटनामा राजनीतिक कार्यक्रममा पुग्छिन्। भोलिपल्ट तिनै जयप्रकाश नारायणलाई भेट्न उनको घरमा पुग्छिन्, जसको नेतृत्वको आन्दोलन चर्किदैगर्दा उनले इमर्जेन्सी लगाएकी थिइन्। हात्ती चढेर बेलछी पुगेको तस्वीर दिल्लीबाट प्रकाशित हुने अखबारहरूमा मेन फोटो हुनपुगे।
श्रीमती गान्धीको लोकप्रियता बढ्न थालेपछि उनका विरोधीहरू नै भन्न थाले, “बेलछीले उनका धेरै उद्देश्य पूरा गर्दियो।” जनता पार्टी गरिब र हरिजनको (उतिवेला दलित शब्द प्रचलित थिएन, महात्मा गान्धीले प्रयोग गरेको हरिजननै प्रचलित थियो) मसिहा हो भन्ने दावीलाई कमजोर पार्दियो। अन्ततः गरिब/हरिजनको नेता त श्रीमती गान्धी नै हुन् भन्ने भाष्य बलियो हुन शुरू भयो। फेरी कांग्रेस कार्यकर्ता/समर्थकमा पनि सत्तामा वापसीका लागि श्रीमती गान्धीमै भरोसा गर्न सकिन्छ भन्ने विश्वास पैदा गर्यो। (गुहा)
श्रीमती गान्धीको लोकप्रियता बढ्न थाल्दा अत्तालिएको सरकारले हतारमा अर्को निर्णय गर्यो। केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले एउटा आरोपपत्र तयार गरी उनलाई पक्रेर हरियाणातिर लग्यो। बाटोमा पर्ने रेल्वे क्रसिङमा गाडी रोकिएको बेला श्रीमती गान्धी गाडीबाट जबर्जस्ती उत्रेर नजिकै धर्नामा बसिदिइन्। त्यही श्रीमती गान्धीका वकिलहरू पक्राउ पूर्जीअनुसार दिल्लीबाहिर लैजान मिल्दैन भनेर गलफत्ती गर्न थाले। त्यही भीड जम्मा भई इन्दिराको पक्षमा नाराबाजी गर्न थालेपछि सीबीआईको टोली दिल्ली नै फर्काउन बाध्य भयो। रातभर हिरासतमा राखेर भोलिपल्ट पेश गर्दा मजिष्ट्रेटले बिना अधार र काल्पनिक आरोपपत्रका भरमा थुन्न खोजेको भन्दै थुनामुक्त गर्न आदेश दियो।
घटनाक्रमले सरकारको बदनामी र गान्धीको लोकप्रियता थप चुलियो। आत्मविश्वासले ‘लबालब’ श्रीमती गान्धी अब बल्ल प्रतिपक्षी नेताको भूमिकामा देखापर्न थालिन। महंगाइ, अपराध, कालोबजारीलाई मुद्दा बनाएर सरकारको चर्को आलोचनामा उत्रिनथालिन। ‘सरकारको चर्को आलोचनामा उत्रिएकी गान्धी अब राष्ट्रिय छवि हासिल गर्ने प्रयत्नमा छिन्’ भनेर न्यूयोर्क टाइम्सले अक्टोबर अन्तिम साता न्यूज नै बनाएको थियो। कांग्रेसका कतिपय नेताले इमर्जेन्सीकालमा भएका ज्यादती छानबिन गर्न गठित शाह आयोगसमक्ष श्रीमती गान्धीका विरुद्धमा बयान दिइसकेका थिए। जनवरी १९७८ मा कांग्रेस पार्टी फेरि फुटेपछि श्रीमती गान्धी नेतृत्वको पार्टी कांग्रेस (आई) कहलाउन पुग्यो। लगत्तै उसले कर्नाटक र आन्ध्र प्रदेश विधानसभा चुनाव सजिलै जित्यो।
अब लोकसभामा पुग्न सुरक्षित सिटको खोजीमा लागेकी श्रीमती गान्धीका लागि कर्नाटकको चिकमगलूर सिट पहिचान भयो। हरहालतमा श्रीमती गान्धीलाई रोक्न उद्यत् सरकारले जनता पार्टीको तर्फबाट मुख्यमन्त्री रहिसकेका कर्नाटकका एकदमै सम्मानित नेता वीरेन्द्र पाटिललाई अघि सार्यो। ‘इन्दिरा हटाओ’ आन्दोलनका तेजतर्रार नेता तथा इमर्जेन्सीविरुद्ध नायकको छवी बनाएका जर्ज फर्नान्डिज चुनावी कमाण्डर बने। केन्द्रमा उद्योग मन्त्री रहेका उनले मतदान सम्पन्न नभएसम्म क्षेत्रबाहिर खुट्टै नराख्ने घोषणा गरी पाटिलको चुनाव प्रचारमा काम गरेका थिए। तर श्रीमती गान्धीले सजिलै चुनाव जितिन।
लोकसभामा प्रवेशस“गै उनीविरुद्ध प्रतिशोधको अर्को श्रृंखला शुरू भयो। लोकसभाको बहुमतले विशेषाधिकार हनन गरेको ठह¥याई उनलाई एकसाता जेल पठाउने निर्णय गर्यो। चुनाव आयोगले जेल जाने भएपछि संसदको सदस्यताबाट राजीनामा दिनपर्छ भन्दियो। फेरी उपचुनाव भयो, फेरी सजिलै जितेर लोकसभा आइपुगिन्, श्रीमती गान्धी। इन्दिरालाई अपमानित गर्न सरकारले गर्ने निर्णयहरू उसैलाई भारी भइरहेको थियो, सबै संकट सामना गर्ने गान्धीको शैलीको तारिफ भइरहेको थियो। सही तरिकाले राजकाज चलाउन केन्द्रित हुनपर्ने सरकार उही इमर्जेन्सीमा आफूले भोगेको दुःखको हिसाबकिताब बरावर गर्न बारम्बार खोजिरहेथ्यो। सरकार साफ संकीर्ण देखिन्थ्यो। (गुहा)
कांग्रेसले ल्याएको अविश्वास प्रस्तावमा जनता पार्टी सरकारमै गृहमन्त्री रहेका चरण सिंह पक्षका सांसदहरूले समर्थन गरेपछि गठन भएको २८ महिनामा मोरारजी सरकार ढलेको थियो। इमर्जेन्सीकालमा जेलमा ‘कुनैदिन सत्तामा आएँ भने कांग्रेसका नेतालाई खुलेआम कोर्रा हान्ने आदेश दिन चाहन्छु’ भन्ने चरण सिंह कांग्रेसको समर्थनमा प्रधानमन्त्री त बन्छन्, कांग्रेसले विश्वासको मत नदिने भएपछि संसदको सामनै नगरी मध्यावधी चुनाव घोषणा गर्छन्। सन १९८० मा श्रीमती गान्धीकै पुनरागमन हुन्छ। ५२५ सदस्यीय लोकसभाको चुनावका लागि भएको चुनावमा कांग्रेसले ३५१ सिट जित्दा जनता पार्टी ३२ सिटमा खुम्चिन्छ।