निर्वाचनमा १ हजार ५ सयभन्दा कम मत खस्ने अनुमान

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतदानमा प्रतिनिधिहरूको उपस्थिति अपेक्षाकृत न्यून देखिएको छ। महाधिवेशनमा करिब ४ हजार २ सय प्रतिनिधि सहभागी भए पनि पदाधिकारी निर्वाचनमा १ हजार ५ सयभन्दा कम मत खस्ने अनुमान गरिएको छ।

रास्वपाका एक नेताका अनुसार केन्द्रीय सदस्य पदमा पराजित भएका अधिकांश उम्मेदवार मतदानस्थल छाडेर फर्किसकेका छन्। उनीहरूसँगै समर्थक, प्रस्तावक तथा प्रतिनिधिहरू पनि बाहिरिएकाले मतदानस्थलमा अहिले करिब ४ देखि ५ सय जनामात्र उपस्थित रहेको बताइएको छ। यही कारण १ हजार ५ सयभन्दा बढी मत खस्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।

यद्यपि मतदान प्रक्रिया भने तीव्र गतिमा अघि बढिरहेको छ। पदाधिकारीतर्फ सीमित संख्यामा उम्मेदवार रहेकाले मतदान गर्न कम समय लागिरहेको निर्वाचन समितिको भनाइ छ। शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको मतदानमा समाचार तयार पार्दासम्म एक सयभन्दा बढी प्रतिनिधिले मत खसालिसकेका छन्।

यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा कुल २ हजार ९ सय ५९ मत खसेको थियो भने १ हजार ३ सय ५२ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए। त्यसको तुलनामा पदाधिकारी निर्वाचनमा सहभागिता अझ कम हुने संकेत देखिएको छ।